हरेक आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा धेरै साना तथा मझौला व्यवसायी (SMEs) मा को दैनिकी एउटै लयमा चल्न थाल्छ। टेबलभरि थुप्रिएका बिल खोज्ने, बैंक स्टेटमेन्टसँग हिसाब मिलाउने, गोदाममा स्टक गन्ने, अनि करका कागजात जुटाउन दौडधुप गर्ने। छुटेका कामहरू हतार–हतार पूरा गर्ने र मसान्तभित्रै closing सक्ने दबाबले गर्दा यो समय निकै अस्तव्यस्त र तनावपूर्ण बन्ने गर्छ।
तपाईंलाई पनि हरेक वर्ष यस्तै अवस्था सामना गर्नुपर्छ भने, तपाईं एक्लै हुनुहुन्न। धेरैजसो अवस्थामा यी समस्या जानाजानी हुने होइनन्। समयमै केही सामान्य तयारी र नियमित record व्यवस्थापनमा ध्यान नपुग्दा आर्थिक वर्षको अन्त्य अनावश्यक रूपमा तनावपूर्ण बन्न पुग्छ।
त्यसैले, यस पटकको closingलाई व्यवस्थित र तनावरहित बनाउन तपाईंले बेलैमा केही पूर्वतयारी गर्न जरुरी छ। अन्तिम घडीमा आत्तिएर गल्ती गर्नुभन्दा अगाडि नै यी ५ महत्त्वपूर्ण कुराहरू जाँच गर्नुहोस्, ताकि तपाईंको व्यवसायको 'Fiscal Year Closing' सहजै सम्पन्न हुन सकोस्:
१. सबै बिल र कारोबारको अभिलेख पूरा छ?
आर्थिक वर्षको अन्त्यमा सबैभन्दा पहिले जाँच्नुपर्ने कुरा भनेको तपाईंका कारोबारसम्बन्धी कागजातहरू व्यवस्थित छन् कि छैनन् भन्ने हो। सानो काम जस्तो लागे पनि यही तयारीले पछि धेरै समय र झन्झट बचाउन सक्छ त्यसैले, एकपटक यी कागजातहरू जाँच्नुहोस्:
- बिक्रीका बिल: वर्षभरि भएका सबै बिक्रीका बिलहरू सुरक्षित छ?
- खरिदका बिल: सामान वा सेवा खरिद गर्दा प्राप्त भएका सबै बिलहरू सुरक्षित छन् कि छैनन्?
- खर्चका बिल: व्यवसाय सञ्चालनका क्रममा भएका खर्चका बिल र रसिद सुरक्षित छन्?
- VAT सम्बन्धी कागजात: VAT लाग्ने कारोबारका आवश्यक बिल तथा कागजातहरू पूरा छन्?
यदि यी कागजातहरू पछि खोज्नुपर्दा भेटिएनन् भने तपाईंको समय मात्र खेर जाँदैन, कर विवरण तयार गर्न र आवश्यक विवरण मिलाउन पनि समस्या हुन सक्छ।
त्यसैले, आज नै करिब ३० मिनेट छुट्याएर सबै बिल र कागजात एकपटक मिलाएर राख्नुहोस्। अहिलेको यो सानो तयारीले आर्थिक वर्षको अन्त्यमा हुने हतार, तनाव र अनावश्यक झन्झटलाई धेरै हदसम्म कम गर्न मद्दत गर्छ।
२. लिन बाँकी र तिर्न बाँकी रकमको स्पष्ट हिसाब छ?
अहिले नै आफूलाई दुईवटा साधारण प्रश्न सोध्नुहोस्:
- कसले तपाईंलाई पैसा तिर्न बाँकी छ?
- तपाईंले कसलाई पैसा तिर्न बाँकी छ?
धेरै व्यवसायमा यी विवरणहरू आर्थिक वर्षको अन्त्यमा मात्र खोज्न थालिन्छ। त्यसबेला पुराना बिल, नोट वा मेसेजहरू हेर्दै रकम मिलाउनुपर्दा अनावश्यक समय र मेहनत लाग्न सक्छ।
लिन बाँकी र तिर्न बाँकी रकमको स्पष्ट जानकारी नभए व्यवसायको Cash Flow पनि अनिश्चित हुन सक्छ। कुन रकम कहिले आउने हो र कुन भुक्तानी कहिले गर्नुपर्ने हो भन्ने थाहा नहुँदा दैनिक आर्थिक योजना बनाउन पनि कठिन हुन्छ।
आर्थिक वर्ष सकिनुअघि नै बाँकी र तिर्न बाँकी सबै रकमको स्पष्ट सूची तयार गर्नु राम्रो अभ्यास हो। यसले तपाईंलाई स्पष्ट रूपमा तीनवटा फाइदा पुर्याउँछ:
- नगद प्रवाह व्यवस्थापन गर्न सजिलो
- भुक्तानीसम्बन्धी विवाद वा अन्योल कम
- आगामी खर्च र व्यवसायिक योजना बनाउन सहज हुन्छ।
यसले वर्षअन्तको हिसाब मिलाउन मात्र होइन, नयाँ आर्थिक वर्ष सुरु गर्दा पनि व्यवसायलाई व्यवस्थित रूपमा अघि बढ्न मद्दत गर्छ।
३. स्टकको वास्तविक हिसाब मिलाउनुभयो?
कागजमा रहेको स्टक र वास्तविक स्टक एउटै हुँदैन। विडम्बना, यो भिन्नता धेरै व्यवसायीहरूले आर्थिक वर्षको अन्त्यमा मात्रै पत्ता पाउँछन्, जुन बेला हिसाब मिलाउन निकै ढिलो भइसकेको हुन्छ।
यसैले, वर्षअन्तअघि गोदाम वा पसलमा रहेको स्टक एकपटक वास्तविक रूपमा जाँच्नु आवश्यक हुन्छ। जाँच गर्दा विशेषगरी यी कुरामा ध्यान दिनुहोस्:
- हराएको सामान (Missing Stock): कतिपय सामान चोरी भएका, गन्तीमा छुटेका वा बिना बिल गइसकेका हुन सक्छन्, जसलाई बेलैमा हिसाबमा चढाउनुपर्छ।
- बिग्रिएको सामान (Damaged Stock): ओसारपसार वा भण्डारण गर्दा बिग्रिएका सामानहरू बिक्री गर्न मिल्दैन। यस्ता सामानलाई छुट्ट्याएर Write-off गर्नुपर्छ।
- म्याद नाघेका सामान (Expired Stock): यदि तपाईं FMCG (Fast Moving Consumer Goods), औषधि वा खाद्यवस्तुको व्यापार गर्नुहुन्छ भने म्याद नाघेका वा नाघ्न लागेका सामान बेलैमा पहिचान गरी हटाउनुपर्छ।
- धेरै समयदेखि नबिकेको सामान (Slow-moving Stock): कुन सामान लामो समयदेखि थन्किएर बसेको छ र पुँजी फ्रिज गराएको छ भन्ने कुरा स्टक गन्दा नै थाहा हुन्छ।
यसरी स्टक मिलाउनु केवल हिसाब–किताबका लागि मात्र होइन। यसले तपाईंको व्यवसायसँग वास्तवमा कति र कस्ता सामान छन् भन्ने स्पष्ट तस्वीर दिन्छ। साथै, कुन सामान फेरि अर्डर गर्ने, कुन बिक्री बढाउनुपर्ने र कुन स्टक व्यवस्थापन गर्नुपर्ने भन्ने निर्णय लिन पनि सजिलो हुन्छ।
आर्थिक वर्ष सकिनुअघि एकपटक स्टकको वास्तविक अवस्था जाँच्ने बानीले वर्षअन्तको हिसाबलाई बढी सही र व्यवसायिक निर्णयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ।
४. कर सम्बन्धी आवश्यक कागजात र विवरण तयार छन्?
आर्थिक वर्षको अन्त्य हुनु भनेको कर कार्यालय (IRD) लाई आफ्नो व्यवसायको हरहिसाब बुझाउने समय नजिकिनु हो। अन्तिम सातामा Tax Portal नचल्ने, Server Down हुने वा Document नपुगेर जरिवाना तिर्नुपर्ने अवस्थाबाट बच्न अहिल्यै यी कागजातहरू एकमुष्ठ पार्नुहोस्:
- PAN/VAT सम्बन्धी विवरण: वर्षभरि बुझाएका मासिक वा चौमासिक (Quartely) भ्याट र Tax return का कागजातहरू।
- कर तिर्नुपर्ने अभिलेख: यदि तपाईंको कुनै आम्दानीमा ट्याक्स काटिएको छ (TDS प्रविष्टि भएको छ) भने त्यसको विवरण र तपाईं आफैँले कसैको भुक्तानीमा Tax deduction गर्नुभएको छ भने त्यसको दाखिला रसिद।
- आवश्यक विवरण (Supporting documents): ठूला खरिद-बिक्रीका सम्झौता पत्र, ढुवानीका कागजपत्र वा भन्सार प्रज्ञापनपत्र (Import Declaration Form) जस्ता मुख्य डकुमेन्टहरू।
आर्थिक वर्ष सकिनुअघि एकपटक सबै करसम्बन्धी कागजात र record मिलाएर राख्नु राम्रो अभ्यास हो। यसले वर्षअन्तको प्रक्रिया थप व्यवस्थित, छिटो र तनावरहित बनाउन मद्दत गर्छ।
५. नयाँ आर्थिक वर्ष सुरु गर्न व्यवसाय तयार छ?
आर्थिक वर्षको अन्त्य हुनु भनेको पुरानो खाता बन्द गर्नु मात्र होइन, आफ्नो व्यवसायलाई अझ बलियो र आधुनिक बनाउने एउटा उत्कृष्ट अवसर पनि हो। त्यसैले, यो वर्षको Closing गर्दै गर्दा आफू र आफ्नो टिमलाई केही महत्त्वपूर्ण प्रश्नहरू सोध्नुहोस्:
- यो वर्ष सबैभन्दा धेरै समय कुन काममा खर्च भयो?
- कुन प्रक्रिया अझ सरल वा प्रभावकारी बनाउन सकिन्छ?
- कुन काम पटक–पटक दोहोरियो?
- अर्को आर्थिक वर्षमा यस्ता झन्झट कसरी कम गर्न सकिन्छ?
यस्ता प्रश्नहरूको उत्तरले व्यवसायका कमजोरी र सुधार गर्न सकिने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्छ। साना–साना सुधारले पनि समय बचाउन, कामलाई व्यवस्थित बनाउन र व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न ठूलो भूमिका खेल्न सक्छ।
त्यसैले, आर्थिक वर्षको अन्त्यलाई केवल हिसाब बन्द गर्ने प्रक्रियाका रूपमा नहेर्नुहोस्। यसलाई आफ्नो व्यवसायलाई अझ व्यवस्थित, प्रभावकारी र आगामी वर्षका लागि तयार बनाउने अवसरका रूपमा उपयोग गर्नुहोस्।
निस्कर्ष
आर्थिक वर्षको अन्त्यलाई धेरै व्यवसायले केवल करसम्बन्धी काम सकाउने समयका रूपमा लिन्छन्। तर वास्तवमा यो आफ्नो व्यवसायलाई एकपटक व्यवस्थित गर्ने, छुटेका कुरा सच्याउने र नयाँ आर्थिक वर्षलाई अझ राम्रो तयारीका साथ सुरु गर्ने अवसर पनि हो।
अन्तिम घडीको दौडधुप र तनावलाई छोडेर आजैदेखि सानो-सानो तयारी सुरु गर्नुभयो भने तपाईंको व्यवसायले नयाँ उचाइ लिनेछ। यस पटकको closingलाई झन्झटमुक्त बनाउनुहोस् र आगामी वर्षलाई प्रविधिको साथमा अझ स्मार्ट, पारदर्शी र व्यवस्थित रूपमा स्वागत गर्नुहोस्।
व्यवसाय सुझाव
यदि हरेक आर्थिक वर्षको अन्त्यमा बिल खोज्ने, स्टक मिलाउने, हिसाब मिलाउने वा आवश्यक प्रतिवेदन तयार गर्ने काम फेरि–फेरि चुनौती बन्ने गरेको छ भने, समस्या आर्थिक वर्षको अन्त्यमा मात्र होइन, दैनिक व्यवसाय व्यवस्थापनको प्रक्रियामा पनि हुन सक्छ।
दैनिक कारोबारका records समयमै राख्ने, बिल र कागजात व्यवस्थित गर्ने तथा आवश्यक विवरण नियमित रूपमा update गर्ने बानीले वर्षअन्तको अधिकांश झन्झट कम गर्न सक्छ। त्यसैले आज धेरै व्यवसायले यस्ता कामलाई सहज बनाउन डिजिटल "Business Management System" प्रयोग गर्न थालेका छन्, जसले वर्षभरि नै record व्यवस्थित राख्न मद्दत गर्छ।
यस्तै समाधानमध्ये "Providhy" पनि एक उदाहरण हो, जसले व्यवसायलाई दैनिक कारोबार र record व्यवस्थित रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ। जब वर्षभरिका विवरण व्यवस्थित हुन्छन्, आर्थिक वर्षको अन्त्यमा हिसाब मिलाउने, report तयार गर्ने र आवश्यक कागजात संकलन गर्ने प्रक्रिया पनि धेरै सहज बन्न सक्छ।
अन्ततः, सफल वर्षअन्तको तयारी केवल अन्तिम केही दिनको मेहनतमा होइन, वर्षभरि अपनाइने व्यवस्थित व्यवसाय व्यवस्थापनमा निर्भर हुन्छ।